नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ : डा. बाबुराम भट्टराई (भिडिओ)

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रूपान्तरणको अभियानमा सधैँ रहिरहने बताए । उनले राजनीतिक दलहरूभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले प्रमुख तीन परम्परागत दलका शीर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरूले मुलुकलाई असफल बनाएको टिप्पणी गरे । उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भएपनि केही नेता र बाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गरे ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरूलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए । उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरूले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताए ।

उनले भने ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । म देशलाई वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनको लागि मैले पद परित्याग गरेको हुँ । अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ । त्यसकारण पनि दलहरूमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ । नयाँ शक्तिका रूपमा आएका राजनीतिक दलहरू र युवाहरूको लागि पनि मार्ग प्रशस्त गर्नुपर्छ । पुराना तीन दलका तीन भ्रष्ट पात्रहरूले जसरी मुलुकलाई यस्तो बनाए उनीहरू विरुद्धको जेनजी विद्रोह जायज थियो । त्यसभित्र पनि प्रतिगमनकारी शक्ति र बाहिरी शक्तिहरूले पनि हात हाल्ने कोसिस गरे । तर भ्रष्ट नेताहरूले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ । म जनआन्दोलनको नेतृत्व गरेको अनुभवको आधारमा पनि आन्दोलन आंशिक सफल भएको छ । यसलाई थप सफल बनाउनको लागि हो । संविधानमार्फत शासकीय सुधार गर्न आवश्यक छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा नजाँदासम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन । अब निर्वाचनमा जाँदा केही सुधार गरेर नजाँदा भोलि यी नै भ्रष्टाचारीहरूले देशको नेतृत्व गर्ने देखिन्छ । अहिलेसम्म भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नुपर्छ । यतातिर युवाहरूको ध्यान पुगोस् भन्ने चाहाछु ।’

उनले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =