सिंहदरबार जलाउनु देश र इतिहासलाई माया गर्ने मान्छेको काम होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मानिसले सिंहदरबारजस्तो राष्ट्रिय सम्पत्ति जलाउन नसक्ने बताएका छन् । नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित आफ्नो निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देशको वर्तमान अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राष्ट्रलाई पिर परेको यस अवस्थामा देश नेपालीले नै बनाउनुपर्नेमा जोड दिए । उनले सेन्टिमेन्टमा आक्रोशित हुँदा अहिलेको परिणाम आएको बताए । मानिसको बानीबेहोरा, आनीबानी सबै सुमधुर, मीठो र समाजोपयोगी हुनुपर्ने उनको भनाइ थियो । युवा पुस्तालाई सभ्य र सुसंस्कृत बन्न आग्रह गर्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको उनले बताए । अहिले ज्ञान सिकाइए पनि चरित्र नसिकाएका कारण युवा पुस्तामा यस्तो समस्या आएको उनको भनाइ थियो ।

ओलीले नेपाल धेरै बदनाम भएको र कतिपय देशहरूले नेपालीका लागि भिसा रोक्ने तथा काम गर्न वञ्चित गराउने अवस्था आएकाले नेपाल लज्जित हुनुपरेको बताए । उनले नेपाल इमानदार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरू कसैले नगरिदिने स्पष्ट पारे ।

सिंहदरबार र संसद भवन कसले जलायो भन्नेबारे जानकारी नभएको बताएका ओलीले यसलाई अरूको लहलहैमा लाग्दाको परिणामका रूपमा लिनुपर्ने औंल्याए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै उनले पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको स्मरण गराउँदै योजनाबद्ध रूपमा सरकारी सम्पत्ति जलाइएको बताए ।

उनले भने, ‘दशैंको शुभकामना । दशैं राम्रोसँग मनाउनुहोला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्सान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ । सेन्टिमेन्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ । ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन । अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पर्यो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =