भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनः उत्थान पनि आवश्यक छ- लगानी बोर्ड सिइओ

काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुनःनिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् ।

भूकम्पपछिको पुनः निर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिँदा सफल भएको बताउँदै उनले भूकम्पपछि धेरै युवाहरूको सहयोग जस्तै अब पनि आत्मबल बढाएर गरेर अघि बढ्नु पर्ने बताए । सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनुपर्ने बताउँदै उनले युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको बताए ।

नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको छ । जेन—जी आन्दोलनपछि केन्द्रीय सरकारसँग बढी अपेक्षा गरिएको भए पनि प्रदेश र स्थानीय तहमार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञवालीले बताए ।

‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकारात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन् ।’ ज्ञवाली भन्छन् ‘अब निजी क्षेत्रको विश्वास जितेर जानसक्दा छिटो नै अर्थतन्त्रको पुनरुत्थान हुनसक्छ ।’

सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिवर्तन हुनुपर्ने बताउँदै उनले वैदेशिक लगानी भित्राउनको लागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताए ।

‘लगानी बोर्डका लामो समयदेखि वन स्टप सर्भिस सेन्टरको प्रणाली छ । तर त्यसको कार्यान्वयन राम्रोसँग हुन सकेको थिएन,’ उनले भने ‘अध्यादेशबाट कानुन संशोधन भएर कर्मचारीलाई अधिकारसहितको जिम्मेवारी दिएका छौँ । अब कार्यविधि बनाएर त्यसलाई छिटो कार्यान्वयन गर्छौँ । सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन सकेको छैन ।’

लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दलसहितका प्रतिनिधि हुनेगरी अघि बढेको र अब त्यसमा थप छलफल गरेर टुंगाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =