नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, यात्रुलाई सास्ती

चितवन । वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुंगा सडक खण्डमा यातायात अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकको तुइन खोला र मुग्लिन-नागढुंगा सडकको जवाङ खोला क्षेत्रमा खसेको पहिरोले यात्रुहरूलाई ठूलो सास्ती भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलानजिक सोमबार रातिदेखि सुख्खा पहिरो खसेको छ । सडक डिभिजन भरतपुरले पहिरो पन्छाउने काम भइरहेको जानकारी दियो ।
सडक डिभिजन भरतपुरले एक विज्ञप्तिमा भन्यो, ‘मुग्लिन-नारायणगढ सडक तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ। तर, सवारी चालकले सवारी साधन अव्यवस्थित तरिकाले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको अवस्था छ।’
यस्तै, मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ। धादिङ प्रहरीले दिएको जानकारीअनुसार, सोमबार राति सुख्खा पहिरो खसेर बाटो अवरुद्ध बनेको थियो । मंगलबार बिहान थप ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा बाधा पुगेको उनले बताए । धादिङ प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।








