संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाले कालो दिनको रूपमा मनायो

काठमाडौँ । संविधान जारी भएकै दिन संघीय लोकतान्त्रिक मोर्चाले कालो दिनको रूपमा मनाएको छ ।
जनकपुरधाममा अपूर्ण संविधान रहेको भन्दै संघिय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरू जनक चोकमा जम्मा भएर प्रदर्शन गर्दै कालो दिन मनाएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव परमेश्वर साहले संविधानमा रहेका कमी कमजोरी, विभेदकारी दफाहरू संशोधन हुनुपर्छ हाम्रो माग रहँदै आएको बताए ।
उनले मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारुलगायत सबैको साझा संविधान हुने गरी संविधानमा परिमार्जन नभएसम्म आन्दोलन जारी रहने बताए ।
पछिल्लो समयमा जेनजी आन्दोलनको क्रममा पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने, सुशासन कायम गर्नुपर्ने, युवाका कुराहरू समेटिनुपर्ने माग उठेको थियो, ती मागहरू पनि संविधानमा समेटिनुपने बताए ।
२०७२ सालमा आजकै दिन मधेसी जनतामाथि ताकिताकि गोली चलिरहेको समयमा अपूर्ण संविधान जारी गरिएकाले संविधान अझैसम्म अपनाउन नसकेको जनता समाजवादी पार्टी, नेपालका नेता जितेन्द्र यादवले बताए । उनले युवा पुस्ताको पछिल्लो जेनजी आन्दोलनले समेत यो संविधान अपूर्ण रहेको कुरा फेरी प्रमाणित गरेको बताए ।
संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरू खारेजी गर्नुपर्ने, मधेसीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोसिस गर्नुपर्ने लगायतका माग राख्दै मधेस केन्द्रित दलहरू प्रत्येक वर्ष असोज ३ गते कालो दिन मनाउँदै आई रहेका छन् । नेपालले नयाँ संविधान पाएको आज १० वर्ष पूरा भएको छ । १० वर्ष अगाडी २०७२ साल असोज ३ गते संविधान सभाबाट बहुमतको आधारमा नयाँ संविधान जारी गरिएको थियो ।








