माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरूको पार्टी : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी फरक धातुले बनेका मान्छेहरूको भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रले विगतमा थुप्रै कमीकमजोरी गरेको भए पनि त्यसको आत्मसमीक्षा गर्दै आएको र माओवादी केन्द्र अरूभन्दा फरक शक्ति भएको स्पष्ट पारे । उनले साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले माओवादीलाई अरू जस्तै देखाउने भाष्य निर्माण गर्न खोजेको भए पनि त्यो सत्य नभएको दाबी गरे ।

जनभावनालाई कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै उनले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको प्रतिबद्धता व्यक्त गरे । अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो गोरेटो कोर्न सकिने उनको भनाइ थियो । उनले कसैले पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा लाग्न आह्वान गरे ।

अध्यक्ष दाहालले भने, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो गोरेटो कोर्न सक्छौँ। हामी कोही निराश हुन जरुरी छैन । हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो । कम्तीमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्दा माओवादी केन्द्रमा बीचमा थुप्रै कमीकमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरूको पार्टी हो । अरू जस्तै हो भनेर जो भाष्य साम्राज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भनेर हामी सबैले उद्घोष गर्न सक्नुपर्छ । बाँकी के गरी सम्बोधन गर्ने जनभावना भन्ने कुरा नेतृत्व तपाईं-हामीलाई थाहा छ, निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ ।’

उनले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =