अराजकतालाई प्रश्रय दिनेहरू पार्टी छाड्नुस् : रास्वपा सहमहामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टीको मूल मर्म शान्ति र अहिंसात्मक राजनीतिमा अडिग रहन सबै तहका नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अराजकतालाई प्रश्रय दिने र उग्रता प्रदर्शन गर्ने जोसुकैलाई पार्टीसँगको आबद्धता त्याग्न आग्रह गरेका हुन् ।

सहमहामन्त्री आचार्यले रास्वपा केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको पाइएमा त्यसको अपनत्व पार्टीले नलिने स्पष्ट पारेका छन् । ‘रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्न सक्ने ठाउँ रहन्न,’ उनले लेखेका छन् ।

हालैको जेनजी आन्दोलन र त्यससँग सम्बन्धित घटनाक्रमका भिडियो तथा फोटोहरू प्राप्त भएको जानकारी दिँदै आचार्यले ती सबै सामग्री अनुशासन आयोगसम्बद्ध सदस्यहरूलाई पेस गरिसकेको बताएका छन् । उनले नक्खु कारागार र देशभरका विभिन्न घटनाहरूमा पार्टी सम्बद्ध व्यक्तिहरूको संलग्नता सम्बन्धमा ६ बुँदे धारणा सार्वजनिक गर्दै गम्भीरतापूर्वक छानबिनको माग गरेका छन् ।

मुख्य बुँदाहरू:-

१. उग्रताको अपनत्व नलिने : रास्वपा केन्द्रदेखि विभिन्न तहका नेतृत्वले प्रदर्शन गरेको उग्रताको अपनत्व पार्टीले लिने छैन । कारागारभित्र रहेका पार्टी सभापति रवि लामिछानेलाई समेत नैतिक संकट पार्ने गरी भएका उग्र प्रदर्शन वा गतिविधिमा पार्टी सदस्यहरूको कुनै किसिमको संलग्नता भएको देखिए बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्छ ।

२. अराजकतालाई प्रश्रय नदिने : युवाहरूका शान्तिपूर्ण मागमा पार्टीको नैतिक समर्थन भए पनि, यदि रास्वपाका नेतृत्व वा जिम्मेवार व्यक्तिहरू भीडलाई बोलाउने, उक्साउने वा उत्तेजित पार्ने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छन् भने सो कार्य क्षम्य हुनुहुँदैन । उनले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आबद्धता छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् ।

३. आगजनी र तोडफोडमा शून्य सहिष्णुता : भदौ २४ गते नख्खु कारागारबाट पार्टी सभापति बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहनेछ ।

४. अहिंसा र लोकतान्त्रिक मूल्यमा प्रतिबद्धता : राष्ट्रिय स्वतन्त्र पार्टी अहिंसा र आधारभूत लोकतान्त्रिक मूल्यप्रति सदैव प्रतिबद्ध छ । पार्टीले भित्र वा बाहिरका कुनै पनि अराजक, उग्र र अवाञ्छित गतिविधि स्वीकार गर्दैन। उनले सरकारले गर्ने जुनसुकै प्रकारको निष्पक्ष अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाएका छन् ।

५. गलत सूचना र अफवाह विरुद्ध सचेत : रास्वपालाई हानी पुर्‍याउन र मिथ्या सूचना तथा अफवाह फैलाउन एउटा ठूलो समूह लागिपरेको आचार्यले बताएका छन् । यसर्थ, पार्टी समर्थकहरूलाई विकसित घटनाक्रमलाई नजिकबाट नियाल्दै पार्टीभित्र र बाहिरका गलत गतिविधिहरूको विरुद्धमा अविचलित लाग्न जरुरी छ ।

६. युवा तथा परिवर्तन पक्षधरसँग बृहत् साझेदारी : देशमा विद्यमान व्यथिति, विकृति, विसंगति लगायतका कारणले निराश भएका युवा, विद्यार्थी लगायतका नागरिकहरूको रास्वपासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जेनजी सहित सम्पूर्ण युवा तथा परिवर्तन पक्षधरमाझ बृहत् साझेदारी र सहकार्य निर्माण आजको आवश्यकता हो । यसका लागि सम्पूर्ण जेनजी प्रतिनिधि, युवा तथा नयाँ राजनीतिक कोर्सका पक्षपातीहरूलाई एकता तथा मोर्चाको लागि उनले अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =