नेपालको भूमिमा व्यापार मार्ग खोल्नु देश जनताको लागि दुःखको कुरा : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबीचको सम्झौता दुःखद भएको बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । उनले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताए ।
उनले यसबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्ने बताए । नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्नेकुरा सह्य नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै चीन र भारतको भ्रम गर्न लागेको उल्लेख गर्दै कूटनीतिक तवरले समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने ‘हालै चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गरे । यो नेपाल र नेपाली जनताका लागि धेरै नै दुःखद कुरा हो । यसका बारेमा यो भन्दा पहिला पनि भारतका प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीले यो लिपुलेक, लिम्पियाधुरा र कालापानीमा व्यापार सम्झौता गरेका थिए । तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षीय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरू अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्सा पनि निकालीसकेका छौँ, प्रधानमन्त्रीज्यू चीन पनि र भारत पनि जाँदै हुनुहुन्छ । आफ्ना कुराहरू कूटनीतिक तवरले राख्नुहोला ।’
सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको संघीयता देशमा चल्न नसकेको बताए ।








