उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् ।

सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे ।

सरकार बनेदेखि नै गल्ती भइरहेको उनको आरोप छ । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उनको भनाइ छ । ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो’ उनले भने ।

अध्यक्ष दाहालले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताए । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदुतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।

यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =