भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन् ।
काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल कुनैपनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताए । ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरुमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन । आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ’ उनले भने ।
उनले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे । उनले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताए ।
उनले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताए ।
उनले भने– ‘एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर । कुनैपनि मित्रराष्ट्रको अहितका लागि भूमिका प्रयोग हुन दिँदैनौँ ।’
नेता रिजालले नेपालको हित चाहने कुनैपनि नेपालीले भारतसँगको सम्बन्धमा कुनैपनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गरे । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताए ।








