गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताएका छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घको ३५ औं वार्षिकोत्सव, सम्मान कार्यक्रम तथा काठमाडौँ जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्दै उनले सामूहिक प्रयत्न विना गुणस्तरीय शिक्षाको नारा नारामै सीमित हुने बताए ।

‘क्याम्पस खुलेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न आवश्यक छ । क्याम्पस परिवार, विद्यार्थी, अभिभावकसहित सबैको भूमिकाबाट मात्रै गुणस्तरीय शिक्षाको नारा पूरा हुनसक्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘शिक्षा क्षेत्रमा विगतभन्दा धेरै कुरा भएका छन् । यसलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनुपर्छ । त्यसका लागि साझा प्रयत्न आवश्यक छ ।’

उनले पब्लिक क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको बताए । समुदायको आवश्यकता र जनचाहनाअनुसार पब्लिक क्याम्पसले शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।

उनले जादुको छडी कसैसँग नहुने भन्दै शिक्षा क्षेत्रमा जस्तै समाजका धेरै क्षेत्र सुधारका लागि सरकारले प्रयास गरिरहेको र त्यसमा आम नागरिकको साथ आवश्यक रहेको बताए ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले गुणस्तरी शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई नैतिक र जिम्मेवार नागरिक बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, एमाले शिक्षा विभाग प्रमुख पार्वती रावललगायतले शहरदेखि ग्रामीण भेगसम्म रहेर विद्यार्थीलाई शिक्षा दिइरहेको भन्दै पब्लिक क्याम्पसको नेपालको उच्च शिक्षाको क्षेत्रमा ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा पब्लिक क्याम्पसबाट उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा र क्याम्पसलाई सम्मान गरिएको थियो । देशभर करिब ६०० पब्लिक क्याम्पस रहेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले उच्च शिक्षा नीतिमा सामुदायिक शिक्षकको स्तर निर्धारणदेखि लगानीको व्यवस्थाको विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =