रास्वपालक्षित बर्तौलाको टिप्पणी : संसदलाई दूषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दूषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
केही सांसदहरूले संसदजस्तो गम्भीर स्थानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न खोजेको उनको आरोप छ । उनले संसदभित्र गैरजिम्मेवार अभिव्यक्ति र हावादारी गतिविधिबाट संस्थागत मर्यादामा आघात पुगेको बताउँदै त्यसप्रति गम्भीर हुन संसद र सभामुखको ध्यानाकर्षण गराए ।
उनले भने ‘यो संसदमा आफ्नो व्यक्तिगत फाइदाका लागि केही सांसदहरूले गलत कुरा व्यक्त गरिरहनु भएको छ । भाइरल बन्नको लागि संसदको ठाउँमा हावादारी र जथाभाबी क्रियमकलापहरु गरेर दूषित समाचार सम्प्रेषणको स्रोत संसद बनाउन खोजिँदै छ ।यसतर्फ सभामुखमार्फत म सिंगो हाउसको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
संसदको गरिमा र मर्यादा जोगाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।








