प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसदको भनाइ संसदको रेकर्डबाट हटाउन महेश बर्तौलाको माग

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको समाचारहरूमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएका थिए । सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौती दिए ।
उनले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।
उनले भने ‘केही माननीयज्युहरुले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसदमा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरूले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ सम्बद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो । उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरू यस गरिमामय संसदमार्फत अभिव्यक्त हुने काम भयो । यी विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसदमार्फत जिम्मेवार सांसदहरूबाट यस्तो तथ्यहीन कुराहरू गर्नेकुरा आफैँमा बेठिक छ । यस्ता तथ्यहीन र भ्रमपूर्ण विषयहरूलाई संसदको रेकर्डबाट हटाइनुपर्छ । को मानिसहरु प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ती बोल्ने माननीयज्युहरुले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ । म यसको चुनौती दिन चाहन्छु ।’
प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिए ।








