तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव रु तीन लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवलाई सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङ अगाडिबाट घुससहित रंगेहात पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार व्यापारी विपिनकुमार पाण्डेयमार्फत घुस रकम लिइरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको हो ।
अनुसार, वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि यादवले कमिसन माग्ने गरेको सूचना आयोगलाई प्राप्त भएको थियो ।
सोही सूचनाको आधारमा लालमोहर योजना अनुसार निगरानी गरिएको र सोमबार उनले तीन लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।








