सभामुख भन्छन्– ‘बोलेको कुराभन्दा गीत–संगीत बढी प्रभावकारी’

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलेका कुराभन्दा गीत–संगीत बढी प्रभावकारी हुने बताएका छन् ।
आइतबार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले गीत–संगीत जनताको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने माध्यम भएको बताएका हुन् ।
‘हामीले बोलेका र गरेका कुराहरू प्रभावकारी हुँदैनन्,’ उनले भने, ‘तर तिनै कुरालाई गीत र संगीतको माध्यमबाट प्रस्तुत गर्दा त्यो स्मरणमा रहने, मुटु र मस्तिष्क दुवै छोइ रहने हुन्छ ।’
उनले गीत–संगीतलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सबैभन्दा प्रभावकारी विधा भन्दै त्यसपछि मात्र कविता र अन्य माध्यमहरू हुने उल्लेख गरे ।
कार्यक्रममा सभामुख घिमिरेले वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०३औं जन्मजयन्तीको अवसर पारेर ४३ औं छिन्नलता गीत पुरस्कार वितरण गरे ।
यस वर्षको छिन्नलता गीत पुरस्कारबाट गीत रचनातर्फ राजेन्द्र रिजाल, संगीत सिर्जनातर्फ अच्युतप्रसाद फुयाल, संयुक्त गायनतर्फ रामभक्त जोजिजू र इतु जोजिजू सम्मानित भए ।
त्यस्तै, युवा प्रतिभा पुरस्कार एसडी योगीले प्राप्त गरे ।








