निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको छ : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ट्रान्समिसन लाइन निर्माणका लागि निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी सरकार अघि बढेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले सरकारले एक्लै ट्रान्समिसन लाइन निर्माण गर्न नसक्ने निष्कर्ष निकालेपछि निजी क्षेत्रलाई पनि सहकार्यमा ल्याइएको जानकारी दिए ।

‘बजार र ट्रान्समिसन लाइन दुवैको सुनिश्चितता गरेर अघि बढिरहेका छौँ,’ मन्त्री खड्काले भने, ‘सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने देखेपछि निजी क्षेत्रलाई समेत सहभागी गराइएको हो । अब ट्रान्समिसन लाइनको समस्या हुँदैन ।’

उनका अनुसार यसअघि विद्युत विधेयकबारे विभिन्न ढंगले व्याख्या भएकाले केही दुविधा सिर्जना भए पनि त्यो अब सम्बोधन भइसकेको छ । उनले विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको दाबी गरे ।

नविकरणीय उर्जा र विद्युत विधेयकको सम्बन्धमा पनि मन्त्री खड्काले ती विधेयकहरू समितिबाट चाँडो पारित गर्नुपर्ने बताए । ‘नविकरणीय उर्जाबारे पर्याप्त छलफल भइसकेकोले अब ढिला नगरी दुबै विधेयक एकैपटक टुंग्याउनुपर्छ,’ उनले भने ।

मन्त्री खड्काका अनुसार ‘टेक अर पे’ मोडलमा परियोजनाहरू अघि बढाइनेछ, जसअनुसार ट्रान्समिसन लाइन निर्माणपछि उत्पादित विद्युत अनिवार्यरूपमा किन्नुपर्ने व्यवस्था हुन्छ ।

उनले आगामी दिनमा विद्युत व्यापार र आपूर्ति थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =