सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता : बलराम अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए ।

उनले नियमन प्राधिकरण बनेसँगै काम नै सुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको बताए । उनले बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउन नसक्ने जिकिर गरे । आचरणहीन भइसकेको कुरालाई आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्ने जरुरी रहेको बताए । सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको बताउँदै स्वनियमनमा छोडिदिँदा स्वनियमनको पद्धति तोडेको आरोप लगाए ।

स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता जरुरी भएको बताए ।

मन्त्री अधिकारीले भने ‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरूकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपयो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन, यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्नेकुरा सुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ । बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन । कुनैपनि कुराहरू बिग्रिएको छ भने आचरणहीन भइसकेको छ, भने आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्छ । हामी सहकारी नियन्त्रण गरेर जाने भन्दैनौँ । सरकारले भनेको पनि छैन । स्वनियमको आधारमा चल्ने भनियो । स्वनिमयताको आधारमा हामीले पद्धति तोड्यौँ । अहिले त्यो पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता । यसरी जानुपर्छ ।’

मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =