एमाले सांसदले रामहरिलाई भने– ‘सभापतिज्यु, अब त्यो कुर्सीमा बस्न सुहाउँदैन’

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै सांसद राईले अबको दिनमा सभापति खतिवडा र सचिव दुराको नेतृत्वमा समिति अगाडि बढ्न नसक्ने स्पष्ट रूपमा चेतावनी दिए । उनले भने, ‘अब तपाईंहरूको नेतृत्वमा समिति चल्न सक्दैन, सहज वातावरण तपाईंहरूले बनाइदिनुपर्छ ।’

उनले समितिले सर्वसम्मत निर्णय गरेर पठाएको कुरामा सभापति र सचिवले जालझेल गरेको आरोप लगाए । ‘समितिको निर्णय तलमाथि गर्ने, सदस्यहरूको अपमान गर्ने अधिकार तपाईंलाई छैन, सभापतिज्यू, तपाईं त्यो कुर्सी छाड्नुपर्छ,’ उनले भने ।

राईले समिति स्वयं सार्वभौम निकाय भएको उल्लेख गर्दै त्यसको निर्णयमा मनपरी हेरफेर गर्नु संसद र जनताको अपमान भएको बताए । ‘हामी जनताबाट चुनिएका प्रतिनिधि हौं, हाम्रो निर्णयमा खेलबाड भयो भने लोकले के भन्छ?’ उनले प्रश्न गरे ।

सांसद राईले सभापति खतिवडाले ‘सकिएन’ भन्नु र इमानदार रूपमा पद त्याग गर्नु उचित हुने सुझाव पनि दिए । ‘सक्नुभएन भने इमानको कुरा गरौँ, सभापतिज्यू, तपाईंले चियर छाड्नुपर्छ,’ उनले दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =