नेपाल एयरलाइन्सलाई थप व्यवसायीक र प्रतिस्पर्धी बनाउँछौँ : बद्रीप्रसाद पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन् ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले ऐतिहासिक र पुरातात्त्विक महत्वका मस्जिदहरूको मर्मत तथा संरक्षणका लागि समेत बजेट विनियोजन गरिएको बताए ।
उनले सबै धर्मावलम्बीका प्रतीकहरूको संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्था बनाउन व्यवस्थापनमा सुधार र विमान संख्या थप गर्ने कार्यमा प्राथमिकता दिइएको पनि बताए ।
उनले भने ‘मस्जिद र चर्च निर्माण तथा मर्मतको सम्बन्धमा पुरातात्त्विक महत्वका मस्विजदहरुमा बजेट विनियोजन भएको म जानकारी गराउन चाहन्छु । चर्च लगायत सबै धर्मावलम्बीहरूका आशाका प्रतीकहरूको संरक्षण उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दछु । नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यवसायीक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधार, विमानहरूको संख्या थप लगायतका कार्यहरूमा प्राथमिकता दिई कार्य अगाडि बढाइएको ब्यहोरा जानकारी गराउन चाहन्छु । पर्यटन प्रवर्द्धनका कार्यहरू नेपाल पर्यटन, बोर्ड, मन्त्रालय, निजी क्षेत्र कूटनीतिक नियोग तथा नेपालीहरूको डायस्पोरामार्फत भइरहेको जानकारी गराउन चाहन्छु ।’
पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कूटनीतिक नियोग र नेपाली डायस्पोरा लगायतको सहकार्य र समन्वयमा काम गरिरहेको उनको भनाइ छ ।








