सरकारलाई धम्की दिने सचिवहरुले चलखेल गरे : सांसद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई वर्षे ‘कुलिङ पिरियड’को व्यवस्थामा संशोधन गराउन केही सचिवहरूको चलखेल भएको आरोप लगाएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले चारजना मन्त्रीहरूको सहमतिमा तय भएको कुलिङ पिरियडको मस्यौदा संसदमा पुग्दा सचिवहरूको दबाबमा परिवर्तन गरिएको दाबी गरे ।

‘रक्षा, गृह, संघीय मामिला र शिक्षा मन्त्री बसेर हामीले दुई वर्षे कुलिङ पिरियडमा सहमति गरेका थियौं,’ उनले भने, ‘गृहमन्त्रीले नै सुनाउनुभएको हो, सर्वसम्मतिले पास गरेका हौँ। तर अब सचिवहरूको चलखेलमा त्यसमा फेरबदल गरिएको छ ।’

उनले केही सचिवहरूले प्रधानमन्त्रीलाई संयुक्त राजीनामाको धम्की दिएकोसमेत दाबी गरे । ‘एकथरी सचिवहरू प्रधानमन्त्रीलाई धम्की दिन पुगेका रहेछन्, हामी सबै राजीनामा दिन्छौं भनेर,’ उनले आरोप लगाए, ‘त्यसपछि विधेयकमा संविधानविपरीतको खालको संशोधन गरिएको छ ।’

सरकारले फागुन २०८० मा संसदमा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा, सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्न नपाउने’ व्यवस्था थियो ।
तर राज्य व्यवस्था समितिबाट पारित गर्दा ‘…बाहेक’ भन्ने शब्द हटाइएको थियो ।

सांसद पाण्डेले प्रतिनिधिसभामा पेस गर्दा पुनः उक्त ‘बाहेक’ भन्ने शब्द थपिएकोमा गम्भीर आपत्ति जनाए । उनले भने, ‘अब संसदमा पुनः संशोधनसहित विधेयक पेस भएको छ, जुन अस्वीकार्य छ ।’

सांसद पाण्डेले राज्य व्यवस्था समितिको सचिवालय, संघीय मामिला तथा कानुन मन्त्रालयले मिलेर ‘बद्मासी’ गरेको आरोप लगाए । ‘यो खेल त्यही सचिवहरूको हो, जसले धम्क्याएर संशोधन गराए,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =