कांग्रेस बैठकमा शेखरको प्रश्न– ‘संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा बिभिन्न प्रश्नहरू उठाएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले पार्टीभित्र अनुशासनहीनता, सत्ता साझेदारीमा कांग्रेसको कमजोरी, गठबन्धनको निर्णयप्रति असन्तुष्टि र भ्रातृ संगठनको अस्तव्यस्ततालगायत गम्भीर विषयहरूमा प्रश्न उठाएका हुन् ।
‘संविधान संशोधनका लागि सत्ता गठबन्धन भएको हो भने सात बुँदे सहमतिमा उल्लेख गरिएको मुद्दा अहिले कहाँ पुग्यो ?’ कोइरालाको प्रश्न थियो, ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्नेमा एमालेलाई सत्ताको नेतृत्व किन दिइयो ?’
कोइरालाले अनुशासन समितिको कामकारबाहीप्रति गम्भीर प्रश्न उठाउँदै समितिले निष्पक्ष निर्णय गर्न नसकेको दाबी गरे । उनले पार्टीको अनुशासन समितिमा केन्द्रिय समिति बाहिरका वरिष्ठ र निष्पक्ष व्यक्तिहरू राख्नुपर्ने बताए ।
‘समान प्रकृतिका मुद्दामा कसैलाई सचेत गराइन्छ, कसैलाई निलम्बनको सिफारिस गरिन्छ, यो विभेद हो’, उनले भने, ‘अनुशासन समितिका संयोजकले व्यक्तिगत रुपमा चिठी पठाउने अधिकार कहाँबाट पाउनु भयो ?’
कोइरालाले पछिल्ला निर्वाचन र उपनिर्वाचनमा गठबन्धनको नाममा कांग्रेसका निष्ठावान उम्मेदवारलाई बञ्चित गरिएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए ।
‘पर्सा–१ मा गठबन्धनका उम्मेदवारले १,११७ मत ल्याए, कांग्रेसका स्वतन्त्र उम्मेदवारले २०,९१७ मत ल्याए’, उनले उदाहरण पेश गरे, ‘बारा–२ मा उपेन्द्र यादवलाई उम्मेदवार बनाउन नहुने भन्यौं, सुन्ने मान्यता नै भएन । अहिले यादव पनि छैनन्, मधेस सरकारमा कांग्रेस पनि छैन ।’
यस्तै नेता कोइरालाले वि.पी.कोइरालाको शालिक अनावरण कार्यक्रमहरूमा आफ्नै समूहका नेताहरूले अवरोध पु¥याएको घटनाप्रति दुःख व्यक्त गरे । उनले अनुशासनको नाममा स्वतन्त्र उठेकाहरूमाथि कारबाही गर्न चाहने तर पार्टी विरुद्ध क्रियाकलापमा संलग्न भएकाहरूमाथि मौन बस्ने प्रवृत्तिप्रति आपत्ति जनाए ।
‘वि.पी.को शालिक अनावरणजस्तो कार्यक्रममा बहिष्कार गर्ने कांग्रेसी कसरी होलान् ?’ उनले प्रश्न गरे ।
नेविसंघ, तरुण दल र महिला संघको अवस्थालाई कोइरालाले गम्भीर चिन्ताको विषय बताए ।
‘नेविसंघको अधिवेशन समय थपेर सम्भव छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘तरुण दल अनशनमा छ, नेविसंघ प्रदर्शनमा छ। महिला संघको अधिवेशन पुरानो सदस्यता नविकरणबिना सम्भव छैन । पुरुषहरूले महिला कार्यक्रममै हातपात गरेका छन् ।’
भागबन्डा होइन, विचारका लागि राजनीति
कोइरालाले आफू १४ औं महाधिवेशनपछि गुटबन्दी नगर्ने निर्णयमा अडिग रहेको बताउँदै आफूमाथि भइरहेको व्यवहार अनुचित भएको जिकिर गरे ।
‘मैले फरक मत कहिल्यै राखिन, तर त्यो सहनशीलतालाई कमजोरी ठानियो’, उनले भने, ‘गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भन्ने मेरो चाहना हो ।’
उनले अन्त्यमा भने, ‘अब पनि सहि कुरा भन्न डरायौं भने पार्टी अझै कमजोर हुँदै जान्छ । अनुशासन सबैका लागि समान होस् ।’
नेता कोइरालाको भनाइ जस्ताको तस्तै
आदरणीय सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू ।
सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।
म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाईदिनुहोला ।
हामी अहिले महाधिवेशनको बर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।
गठबन्धनः–
२०७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।
अनुशासन समितिः–
१. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यू यसको जवाफ चाहियो ।
२. म आज धेरै सोचेर भन्दैछु । अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर साथीहरुलाई राख्नुपर्छ । अहिले अनुशासन समितिमा रहनुभएका साथीहरु कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठी सम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदोरहेनछ । तपाईँका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरु । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको बिषयमा कसैलाई सचेत गराईएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?
३. पर्सा– १ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो । गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो । कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो ।
गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरुलाई दिइयो ।
उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन । मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो । आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ ? यसको पनि जवाफ चाहियो ।
४. २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो । फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो । यो कस्तो राजनीति थियो ?
५. अनुशासन समितिको संयोजकले आफुखुसी व्यक्तिगत रुपमा चिठी पठाउँनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो ? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन ? यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो ।
६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने ईच्छा ब्यक्त गर्नुभयो । १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन ।
७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको ब्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाईएको छैन ? यो घट्नाले कांग्रेसलाई कति क्षती पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्नुभएको छ ?
८. निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ ।
पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो । उहाँहरु सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु ।
९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको वि.पी.कोइरालाको शालिक अनावरण कार्यक्रममा जानुहँुदा, पार्टीका केन्द्रिय सदस्य साथीहरुले नै कार्यक्रम बहिष्कार गर्नुभयो ।
२०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा वि.पी कोइरालाको शालिक अनावरणमा मलाई वोलाइयो । म आफँै प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समुहका पुर्व मन्त्री देखि जिल्लाका सिनिएर साथीहरुले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रम भन्दा ठिक पहिले उहाँहरुलाई भेटेर विपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ । तर पनि उहाँहरुले कार्यक्रम बहिष्कार गर्नुभयो । वि.पी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरुलाई अनुशासन लाग्ने कि नलाग्ने ? ति साथीहरु कस्ता कांग्रेसी ? सहि कुरा भन्न अब हामीले मुख लुकाउँन हुँदैन ।
भातृ संस्थाबारेः–
१. नेविसंघ, तरुण दल, महिला संघ बारे सभापतिज्यूको घरमा भएको बैठकमा मैले प्रष्टरुपले भनेको थिएँ । अहिलेको ठुलो समितिले अधिवेशन गर्नै सक्दैन, त्यसैले पार्टीले जिम्मा लिएर अधिवेशन गराऔँ । नेविसंघ निर्देशक समितीको बैठकमा मैले समयावधी थप्न समर्थन गरेको भन्ने कुरा पदाधिकारीले भन्नु भएछ । म अहिले पनि भन्दैछु, जति समय थप्नुस, अधिवेशन हुन्छ भन्नेमा मलाई विश्वास छैन । तरुण दलका साथीहरु अनसनमा हुनुहुन्छ । नेविसंघको प्रदर्शन भैरहेको छ । यसलाई सम्बोधन गरौँ ।
२. नेविसंघ र तरुण दल भन्दा महिला संघ फरक छ । महिला संघ र पार्टीको बिधान एकै प्रकारको भएकाले महिला संघको पुरानो सदस्यता नविकरण नभएसम्म अधिवेशन सम्भव छैन । २० जना केन्द्रिय सदस्यले राजीनामा दिएको अवस्था र पुरानो सदस्यता नविकरण नभएको अवस्थामा महिला संघको अधिवेशन हुनै सक्दैन । ईलाममा महिला संघको कार्यक्रममा पुरुषहरुले महिलामाथी हातपात गरेका छन् । त्यसमा पार्टी सभापतिज्यूको ध्यान जाओस ।
३. नेपाल दलित संघको ४२ जिल्ला बिघटन गरिएको सुन्नमा आएको छ । अधिवेशनमा जाने कि बिघटन गर्ने ? जिल्ला बिघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो ? यसको जवाफ चाहियो ।
मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन । मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।
जय नेपाल ।
(२०८२ असार १६ गते, नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, कांग्रेस केन्द्रिय कार्यालय, सानेपा ललितपुर, नेपाल) ।








