विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएकी छन् ।
पूर्व सांसद मञ्चले ६७ औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले जनताबीच संसद्प्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न आग्रह गरिन् ।
‘संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था गतिशील राख्न महत्वपूर्ण भूमिका खेल्दछ,’ उनले भनिन्, ‘लोकतन्त्र बलियो बन्नका लागि संसद्लाई बलियो र प्रभावकारी बनाउनुपर्छ ।’
संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख रानाले संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन गर्न आग्रह गरिन् । संसद् कमजोर हुँदा जनताका आवाज दबाइने भएकाले संसदीय सर्वोच्चताको पक्षमा उनको जोड थियो ।








