रामधुनीमा बाइक जुध्दा बाबुछोरासहित तीनको मृत्यु

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकास्थित चतरा-कान्छी चोक सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकलमा सवार बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिष चौधरी रहेका छन् । त्यस्तै, अर्को मोटरसाइकलका चालक इनरुवा नगरपालिका-६ का ५१ वर्षीय बिन्दु यादवको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मृतक इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी गम्भीर घाइते भएकी छिन् । उनी सोही मोटरसाइकलमा सवार थिइन्
त्यसैगरी, को ३३ प ९६०५ नम्बरको मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका-७ का ३६ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । घाइते दुवै जनाको बीपी प्रतिष्ठानमै उपचार जारी छ ।








