छानबिन समितिको मागबाट पछि नहट्ने रास्वपाको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले भिजिट भिसामा भइरहेको मानव तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान दोहोर्याउँदै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सांसद हरिप्रसाद ढकालले सरकारले गठन गरेको छानबिन समितिलाई रास्वपाले अस्वीकार गरेको बताए । उक्त समिति केवल ‘झारो टार्ने’ र मुख्य मुद्दालाई ओझेलमा पार्ने षड्यन्त्र भएको उनको आरोप छ । ‘सरकारले बनाएको समिति झारो टार्ने खालको छ, हामीले त्यसलाई मानेका छैनौँ,’ सांसद ढकालले दृढतापूर्वक भने, ‘हाम्रो माग स्पष्ट छ- उच्चस्तरीय छानबिन समिति। यो नबनेसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’

सांसद ढकालले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको संगठित मानव तस्करी जस्तो गम्भीर विषयमा सरकार उदासीन बनेकोमा आपत्ति जनाए । लामो समयदेखिको आफ्नो मागलाई सरकार प्रमुखले नजरअन्दाज गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले थपे, ‘यो देशको चौथो ठूलो दलले ३४ दिनदेखि आम नागरिकको सरोकारको विषय उठाउँदा पनि सरकार प्रमुखले चासो दिनुभएको छैन । भिजिट भिसामार्फत भइरहेको मानव तस्करीको समस्या सुल्झाउन उच्चस्तरीय आयोग नबनेसम्म हामी सदन र सडकबाट आन्दोलन जारी राख्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =