क्याफे क्रसः पत्रकारसँग पत्रकारको कफि डेट

काठमाडौंको बीच भागमा एउटा सानो, शान्त, र सांगीतिक आत्मा बोकेको क्याफे छ– ए वान क्याफे । पुराना काठका झ्यालहरूबाट पस्ने मधुर उज्यालो, पर्खालमा टाँसिएका पुराना पोस्टरहरू, अनि रेडियोमा बज्ने संगीतको मधुर धुन । भीडले भरिएको काठमाडौंमा यस्तो थलो पाउनु – त्यो स्वप्नजस्तै लाग्छ ।
यही क्याफेको कुना टेबुलमा म प्रायः शनिबार सधैं जसो आउँथेँ । ब्ल्याक विद नो शुगर कफी लिएर, मोबाइलको नोट्समा के–के लेख्दै, कहिले काँही किताब पढ्दै, कहिले मौन आँखाले संसार हेर्दै । यसरी नै वित्छ मेरो शनिबार ।
क्याफेमा मेरो ध्यान पर्न थालेको पात्र थिई– समीक्षा । ऊ त्यहीँ पहिलोचोटि देखिएकी थिई । हातमा डायरि, ल्यापटप, कपाल पछाडि बाँधिएको, सादा पहिरनमा पनि सहज देखिने । सुरुमा हामी एक–अर्कालाई नजरले मात्र चिनेका थियौँ । एक किसिमको मौन स्वीकृति थियो जस्तैः म पनि नियमित ? उ पनि ।
उसको बारेमा मैले क्याफेको साहुजीबाट केही कुरा थाहा पाइसकेको थिएँ । उ पत्रकार हो, राष्ट्रिय टिलिभिजनमा रिपोर्टिङ गर्छे । पिके क्याम्पसमा पढ्छे, लगायतका सामान्य जानकारी मैले पहिले नै लिइसकेको थिएँ ।
हप्तौ बिते । हामी सँगै थिएनौं, तर एउटै वातावरणमा सास फेर्दै थियौँ । त्यसैबीच एकदिन, क्याफेमा सामान्य हलचल थियो । म आफ्नो नियमित टेबुल नम्बर सी–ए मा थिएँ, समीक्षाले चाहिँ अर्को कुना रोजेकी थिई । तर त्यो दिन समीक्षाको ल्यापटप बन्द थियो, हातमा एउटा किताब थियो -‘On Writing’ by Stephen King.
मैले हाँस्दै सोधेँ – ‘पत्रकारिता छोडेर फिक्सन लेख्दै हुनुहुन्छ कि क्या हो ?’
उनले नजर उठाएर मलाई हेर्दै हल्का मुस्कान दिइन् –‘होइन, पत्रकारिता नै छ । तर आज लेख्न मन लागेन । पढ्न मन लाग्यो ।’
त्यो हाम्रो पहिलो संवाद थियो । त्यसपछि हरेक हप्ता, हामी केही न केही सानो कुराकानी गथ्र्यौं । कफीबारे, खबरबारे, कहिले राजनीति, कहिले मौसम ।
समीक्षा र म उमेरले संगसंगैका थियौ । ऊ एउटा राष्ट्रिय टेलिभिजनमा रिपोर्टिङ गर्थी, म चाहि मकालुखबरको डेस्कको जिम्मेवारीमा छु । ऊ बोलेर आकर्षित गराउने खालकी थिई, म भने सुनिरहने खालको ।
समयसँगै हाम्रो मित्रता पनि बढ्दै गयो । हामीले फोन नम्बर साट्यौं, कहिलेकाहीँ रिपोर्टिङमा सहयोग गथ्र्यौं । उसले मेरो लेखहरू पढ्न थाली, मैले उसले रिर्पोटिङ गरेर बनाएका भिडियोलाई फीडब्याक दिन थालेँ । यसरी नै हाम्रो कुराकानी भइरहन्थ्यो ।
तर, एक दिन उसले अच्चमको प्रश्न सोधी– ‘तपाईं कहिल्यै हाँस्नुहुन्न ? मैले त तपाईंको हाँसो एकपटक पनि देखिनँ ।’
उसो त म सधैँ हाँसीरहने मान्छे हुँ । खै उसले मेरो हाँसो किन देखिन । म एकछिन मौन भएर उत्तर दिएँ – ‘अझै कारण आएन, आयो भने हाँस्नेछु ।’
त्यो रात मैले मेरो दैनिक डायरीको नोट्समा लेखेँ ‘कसैले त हाँसोको मूल्य सोध्यो ।’
समय बित्दै गयो । एक अर्काको लागि कफी अर्डर गर्न थालेका थियौं । समीक्षा कहिलेकाहीँ आफ्ना रिपोर्टिङमा भोगेका संवेदी क्षणहरू सुनाउँथी । एक दिन उसले भनेकी थिई– ‘कहिलेकाहीँ लाग्छ, पत्रकारिताभन्दा मनोविज्ञान पढ्नुपथ्र्यो । मान्छेको कथा भन्दा पनि उसको मौनता चिच्याउँछ जस्तो लाग्छ ।’
मैले टोलाउँदै भनेको थिएँ – ‘त्यसैले होला म मौन बस्छु । बोल्दा सबै बुझिँदैन ।’
त्यसपछिका केही हप्ता समीक्षाको नजर फरक हुन थालेको थियो । अब ऊ खबरका लागि क्याफे आउँथी जस्तो लाग्दैनथ्यो । ऊ आउँथी, मेरो कुर्सी हेर्थी, अनि मात्रै अर्डर गर्थी ।
तर, एक दिन उसले मलाई एउटा कार्ड दिइ । सादा, सेतो कार्ड, जसमा लेखिएको थियो–‘तपाईंको मौनता मलाई लेख्न मन छ । तपाईंलाई हेर्नु मेरो दिनको रिपोर्ट जस्तै बनिसक्यो । अब रिपोर्ट पूरा गर्न चाहन्छु, के हामी यो रिपोर्ट सँगै लेख्न सक्छौं ?’
म केही क्षण मौन भएँ । मेरो मन झस्कियो, तर त्यसैगरी शान्त भयो । मैले कार्ड पढेँ, समीक्षालाई हेरेँ, अनि भनेँ –‘तिमि असल छौ समिक्षा । म भने अझै केही डराइरहेको छु । म अझै थोरै टाढा छु, तर तिमिप्रति आदर धेरै छ । यो प्रेम होइन भन्न सक्दिनँ, तर अझै प्रेम हो भन्न पनि सक्दिनँ ।”
उसका आँखामा अलिकति निरासाको चोट थियो, अलिकति स्वीकारोक्ति । समीक्षाले हल्का हाँस्दै भनि– ‘ठिकै छ, पत्रकार कहिलेकाहीँ स्रोतसँग समय लिन्छ । म पर्खन सक्छु, किनकि म तपाईंको मौनता पढ्न जान्दछु ।’
हप्ताहरू बिते । हामी पहिलेझैं भेटिन्थ्यौं । तर संवाद नहुने, आँखा नमिल्ने । एक दिन, ऊ आइन । अर्को हप्ता पनि आइन ।
तेस्रो हप्ता, म क्याफेको त्यही कुना टेबुलमा टेबुल नम्बर सी–ए मा पहिलेबाटै बसेँ । साथमा थियो सानो फुलको गुच्छा, र कार्ड ।
त्यो दिन भने समीक्षा झुल्किइन् । अचम्मित भएजस्तो । मैले कार्डको जवाफ कार्डबाटै दिँदै भनेँ– ‘जीवनका धेरै रिपोर्टहरू लेखेँ । तर तिमीलाई नलेख्दा यो अधुरो लाग्थ्यो । अब म तयार छु । रिपोर्ट होइन, कथा लेख्न । संवाद होइन, सँगै हाँस्न ।’
समीक्षाको आँखाबाट चुपचाप एक थोपा आँसु खस्यो । यो खुसीको पनि थियो, गुनासोको पनि थियोे । त्यो दिन हामीले पहिलोपटक एउटै कप कफी साट्यौँ ।
‘ब्ल्याक विद नो शुगर ?’ समीक्षा हाँस्दै सोधी ।
‘तर आज चाहिँ… मिठास साथ होस्,’ मैले मुस्कुराउँदै भनेँ ।








