प्रकाशमानको प्रश्न : पटक-पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले विभिन्न चरणका परीक्षणहरूमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने बताए । उनले नेपाली काँग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताए ।
उनीहरुले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे । जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आस गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ । काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएको खण्डमा मात्रै सन्तोषको सास फेर्न सकिने बताए ।
उपप्रधानमन्त्री सिंहले भने ‘नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईँ हामीले सन्तोषको सास फेर्न सक्छौँ । होइन भने धेरै अप्ठ्यारो हुन्छ । समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ । २००३ सालमा स्थापना भएको नेपाली काँग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भयो । अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली काँग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ । पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरूले मात्रै कुरा यहाँ हुने भयो भने यसरी देश कहाँ पुग्छ ? २००३ मा स्थापना भई जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आस गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ । यसमा विचार गर्न जरुरी छ ।’
उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए । जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको बताए ।








