लागुऔषधले मुलुकलाई अँध्यारोतर्फ धकेल्दैछ : गृहसचिव दुवाडी

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले लागुऔषध दुर्व्यसनले सिंगो मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको बताएका छन् । उनले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले यसको नियन्त्रणका लागि सबै पक्षको एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिए । लागुऔषधको असर बहुआयामिक रहेको र यसले समाजमा गम्भीर अपराधहरू निम्त्याइरहेको समेत उनले स्पष्ट पारे । ‘लागुऔषधको कुलतमा फसेर देशका कर्णधार युवाहरूको भविष्य अन्धकारमय बनिरहेको छ,’ गृहसचिव दुवाडीले भने, ‘यसले समाजमा हिंसा, हत्या, आत्महत्या, दुर्घटना र साइबर अपराध जस्ता विकृतिहरू बढाएको छ ।’
उनले यो समस्याको नियन्त्रण कुनै एक निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने तर्क गर्दै तीनै तहका सरकार, सरकारी निकाय, गैरसरकारी संस्था र नागरिक समाजबीच बलियो सहकार्य हुनुपर्ने आवश्यकता औंल्याए । ‘सभ्य समाज निर्माण गर्नु हामी सबैको साझा कर्तव्य हो। यो कर्तव्य पूरा गर्न लागुऔषध विरुद्धको लडाइँमा सबै एकजुट हुनैपर्छ,’ उनले भने ।








