उपभोक्ताले तिर्ने करबारे उत्पादकसँगको छलफलको औचित्य छैनः एमाले सांसद थापा

काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले बजेटसँग सम्बन्धित विधेयकहरू सदनबाट पास नभईकन अर्थ समितिमा छलफल हुनु विधिसम्मत नभएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले सुनचाँदीका गरगहना, ग्याविन वायर र आयुर्वेदिक औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट) को विषयमा छलफल गर्नु अनुचित रहेको बताएका हुन् ।
करका दरहरू प्रस्तावित भइसकेको उल्लेख गर्दै सांसद थापाले आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहने बताए । उनले वस्तुहरूमाथि लगाइएको कर लगानीकर्ता र उत्पादकहरूले नभई उपभोक्ताले तिर्ने भएको कारण उत्पादक कम्पनीहरूसँग छलफल गर्नुको सार्थकता नरहेको समेत बताए ।
उनले भने ‘बजेट वक्तव्यसँग सम्बन्धित जुन विधेयकहरू दर्ता भएका छन् । ती विधेयक पारित हुनुभन्दा अगाडि अर्थ समितिको कार्यक्षेत्र भित्रको कुरा हो जस्तो मलाइ लाग्दैन । त्यही भएर यो छलफल उचित छैन । म व्यक्तिगत रुपमा आयुर्वेद क्षेत्रका साथीहरू बहुराष्ट्रिय कम्पनीहरूको माखे साङ्लोमा नपर्नुहोस्, उहाँहरूलाई जसरी करमा, उत्पादनमा व्यवस्थित गर्न सहयोग गर्ने मान्छे हो । तर यो तरिका चाहिँ मिलेन । कहिले उजुरी आएछ अनि आकाशै खसेजस्तो विधेयकमा सदनमा छलफल नहुँदै हामीले सैद्धान्तिक छलफल गर्नको लागि कार्यसूचीमा राखेर छलफल गरेका छौँ । फेरी यो भ्याटका सवालमा लगानीकर्ता र उत्पादकहरूले त भ्याट तिर्ने होइनन् । कर तिर्ने त उपभोक्ताले हो नि । त्यस कारण यो छलफलको तरिका मिलेन ।’
समिति बैठकमा बुधवार आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर तथा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा गरेको हो ।








