रास्वपा र राप्रपालाई सरकारको आग्रह- हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्नुस्

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्ष दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका छन् ।

बुधवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

संसदको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको जिकिर गरे ।

रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उनको भनाइ छ । समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि बताए । छानबिन समिति स्वीकार गरेर छानबिन समितिले निर्वाध रुपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन खबरदारी गर्नुपर्ने बताए ।

सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

उनले भने ‘प्रतिपक्ष दलले जे खलको सहयोग गरेको छ, त्यो आफैँमा यो संसदीय व्यवस्थाप्रतिको उहाँहरूको विश्वास रहेको स्पष्ट हुन्छ । संसद समस्या समाधानको थलो रहेको कुराको पुनः पुष्टि गरेको छ । त्यो पनि बुझ्नुपर्छ । अरु प्रतिपक्ष दलहरू जसरी मेरो गोरुको बाह्रै टक्का भन्नुभएको छ । यो सोह्रै आना गलत छ । समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई यसरी अड्काउन हुँदैन यस्तो विषयमा । मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन । त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ । अब बरु समितिले निर्वाध भएर काम गर्न पाओस् । भोलि यस्ता समस्या नआउन् भनेर राम्रो सुझाव देओस् भनेर लाग्नुपर्छ ।’

मन्त्री गुरुङ विरोधको अब धेरै औचित्य नरहेको बताए । संसदीय काम कारबाहीमा सामेल भएर संसद अघि बढाउन सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =