नवराज बोहरालाई डा. कोइरालाको ढाडस- ‘सुशासनको अभियानमा पूर्ण साथ छ’

काठमाडौं । कर्णालीमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध सुर्खेतबाट ३१ दिनसम्म खाली खुट्टा पैदल हिँडेर काठमाडौँ आइपुगेका अभियन्ता नवराज बोहराले आफ्नो अभियानका क्रममा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटलाई निरन्तरता दिएका छन् । यसै क्रममा उनले बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेता कोइरालाले बोहराको साहसिक र प्रतीकात्मक यात्राको प्रशंसा गर्दै उहाँले उठाएका सुशासनका मुद्दाहरूमा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताएका छन् । डा. कोइरालाले आफू सदैव सुशासन र स्वच्छ राजनीतिक अभियान ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को पक्षमा रहेको उल्लेख गर्दै बोहराको अभियानमा आफ्नो व्यक्तिगत र दलगत तहबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाएका छन् ।
को हुन् बोहरा ?
अभियन्ता बोहराले कर्णाली प्रदेशको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दाहरूलाई राष्ट्रियस्तरमा ध्यानाकर्षण गराउन गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा पैदलयात्रा सुरु गरेका थिए । ३१ दिनको कठिन यात्रापछि उहाँ असार ३ गते काठमाडौँ आइपुगेका हुन् । उनले आफ्नो यात्रालाई केवल पैदलयात्रा नभई, राज्यको ध्यानाकर्षण गराउने एक प्रतीकात्मक सत्याग्रहको रूपमा व्याख्या गरेका छन् । काठमाडौँ आइपुगेपछि उनले आफ्नो पहिलो चरणको अभियान पूरा भएको जनाउँदै अब नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन् ।








