रुपन्देही-३ को उपनिर्वाचनमा एमालेबाट भट्टराईको चर्चा, बोलाइयो सचिवालय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको निधनपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको सरगर्मी बढेको छ । सत्तारुढ दल नेकपा एमालेले यो उपनिर्वाचनमा पार्टीका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि भट्टराईले आफ्नो तयारीलाई तीव्रता दिएका छन् । सोमबार बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले उपनिर्वाचनमा पार्टीले जित्नैपर्ने भन्दै सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यूसँग मेरो भेट भएको हो । उहाँले चुनाव जित्नुपर्छ, जित्ने तयारीका साथ पार्टी लागेको छ, तपाईं पनि लाग्नुस् भन्नुभयो,’ भट्टराईले भने, ‘पार्टीले जित सुनिश्चित गर्ने बलियो योजना बनाएको छ ।’
भट्टराईले यसपटक रूपन्देही-३ मा पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन् । विगतमा रहेको पार्टीको आन्तरिक किचलो अहिले समाधान भइसकेकाले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने उनको तर्क छ । ‘विगतमा अन्तरविरोध थियो, अहिले छैन । पार्टीभित्र कुनै समस्या छैन,’ उनले भने, ‘२०७९ को स्थानीय तह निर्वाचनमा यही अन्तरविरोधका कारण परिणाम सोचेजस्तो आएन । हामीले त्यसको गहिरो समीक्षा गरेर अब तयारी अवस्थामा बसेका छौं ।’
निर्वाचन आयोगले सरकारलाई कात्तिक महिनामा रिक्त पदहरूमा उपनिर्वाचन गर्न सुझाव दिएसँगै राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका हुन् । सरकारले पनि कात्तिकको दोस्रो साता उपनिर्वाचनको मिति तोक्ने तयारी गरिरहेको बुझिएको छ। २०७९ को आमनिर्वाचनमा एमालेले यही क्षेत्रमा राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाएको थियो । तर अहिले एमाले आफैँ उम्मेदवार उठाएर क्षेत्र आफ्नो पोल्टामा पार्ने रणनीतिमा छ । भट्टराईका अनुसार उक्त क्षेत्रमा एमालेका २४ सयभन्दा बढी संगठित पार्टी सदस्य छन्, जसलाई जितको प्रमुख आधार मानिएको छ ।
भट्टराईको राजनीतिक पृष्ठभूमि
भट्टराईले २०७९ को आमनिर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका थिए । त्यतिबेला उनले रूपन्देही-५ बाट उम्मेदवारी दर्ता गरे पनि पार्टीभित्रकै अर्का नेता, तिलोत्तमाका पूर्वमेयर वासुदेव घिमिरेले पनि सोही क्षेत्रमा उम्मेदवारी दिएका थिए । अन्ततः निर्वाचन आयोगले घिमिरेको उम्मेदवारीलाई मान्यता दिएपछि भट्टराई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन पुगेका थिए, जसले पार्टीभित्र ठूलो विवाद सिर्जना गरेको थियो ।
एमालेले उपनिर्वाचनबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । सचिवाल बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ । बैठकमा उपनिर्वाचन, विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने एमालेले जनाएको छ ।
रूपन्देही-३ सँगै मनाङमा प्रदेश सभा सदस्य दीपक मनाङे पदमुक्त भएपछि रिक्त रहेको मनाङ क्षेत्र नम्बर १ (२) मा पनि उपनिर्वाचन हुनेछ।








