नागरिकहरुको जीवनस्तर उकास्न पुँजीवादी व्यवस्था अपरिहार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी आर्थिक व्यवस्था आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले समुन्नत नेपाल निर्माणको लक्ष्यसहित कांग्रेसले तल्लो तहका नागरिकलाई माथि ल्याउने नीति अँगालिरहेको स्पष्ट पारे ।

‘हामीले खोजेको समुन्नत नेपाल हो,’ थापाले भने, ‘हामी पुँजीवादी अर्थतन्त्रमा विश्वास गर्छौं । नाफालाई अपराध ठान्दैनौं । व्यवस्थित प्रणालीमा कुनै नागरिकले पासपोर्ट वा लाइसेन्स लिन पार्टीको सदस्य हुनुपर्दैन ।’

बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणाली विषयक अन्तरक्रियामा उनले नेपालले बेलायती संसदीय प्रणाली अनुकरण गरेको भन्दै त्यसप्रति गहिरो विश्वास रहेको धारणा राखे । उनले कांग्रेस र बेलायती लेबर पार्टीबीच ‘भगिनी सम्बन्ध’ रहेको उल्लेख गर्दै पुराना पार्टीहरू जस्तै बेलायतमा पनि लेबर पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

थापाले सन् १९९५ मा लेबर पार्टीले निजी सम्पत्ति र उदारवादी नीति अँगालेको बेलामा नेपाली कांग्रेसले पनि ग्रामीण विकासमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा बजेट बढाएको स्मरण गरे ।

कार्यक्रममा बेलायती लेबर पार्टीका नेता डा बच्चुकैलाश कैनीले बेलायतको लोकतन्त्र, आन्तरिक पार्टी प्रणाली, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वका विषयमा आफ्ना अनुभवहरू बाँडे । नेपाली मूलका कैनी २०१२ देखि लेबर पार्टीमा आबद्ध छन् र पूर्व नेविसंघ तनहुँका सचिवसमेत हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =