पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि सत्ता–प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेकपा (एमाले) ले पाँच दिनभित्र संयन्त्र निर्माण गर्ने बताएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले विपक्षीसँगको समझदारीअनुसार संयन्त्र बनाउने तयारी अघि बढाइसकेको जानकारी दिए ।
‘एक महिना कुर्दैनौँ, आजको मितिबाट बढीमा पाँच दिनभित्र संयन्त्र बनाउँछौं,’ बर्तौलाले भने, ‘गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ, त्यसतर्फ उच्च तहबाट तयारी भइरहेको छ ।’
भिजिट भिसा प्रकरणमा सरकार गम्भीर भएको जिकिर गर्दै बर्तौलाले प्रमुख प्रतिपक्षसँग भएको दुईबुँदे सहमतिका विषयमा सरकार जिम्मेवार रहेको बताए । उनले रास्वपा र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गर्दै आएकोप्रति असहमति पनि जनाए ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सहमतिअनुसार छानबिन समिति बनाउन ढिलाइ गर्न नहुने धारणा राखेका थिए ।
एमाले प्रमुख सचेतक बर्तौलाले जेठ १३ गतेदेखि जारी संसद् अवरोध अन्त्य गर्ने दिशामा सहमति कार्यान्वयन गरिने बताएपछि अब संसद् सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।








