सुन काण्डमा पक्राउ परेकी माओवादी नेतृ अमलाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश बलराम लम्सालको इजलासमा आज थुनछेक बहस नसकिएपछि मुद्दा स्थगित गरिएको हो ।

अमला रोका पुनः केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा फर्किएकी छन् । आगामी सोमबार थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा रिहा गर्ने वा कारागार पठाउने फैसला हुने बताइएको छ ।

रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएको शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्यूजन नोटिससमेत जारी गरिएको थियो ।

अमला रोकाको नाममा ठमेलस्थित होटल भियना दर्ता रहेको छ । उनी सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमतीसमेत हुन् । अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध विस्तार गरेको बताइएको छ ।

२०७९ साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद भएको थियो । प्रारम्भिक अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले सो प्रकरण थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =