प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणजस्ता मुद्दा उठाउँदै बोहराले जेठ ४ गते सुर्खेतबाट यात्रा सुरु गरेका थिए । ३१ दिनको यात्रापछि उनी असार ३ गते काठमाडौं आइपुगेका थिए। सोही दिन प्रधानमन्त्रीलाई भेट्न खोजेपनि कार्यव्यस्तताका कारण आज (आइतबार) मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा भेट सम्भव भएको हो ।

बोहराले प्रधानमन्त्रीलाई आफूले यात्रा क्रममा देखेका समस्या, उपचार नपाएका बालबालिकाका पीडा, स्थानीयस्तरमा देखिएका कमजोरीहरूलगायत विषयमा जानकारी गराएका थिए । उनले आफ्नो अभियानमार्फत समस्या समाधानका लागि गरेका पहलकदमीबारे समेत प्रधानमन्त्रीलाई अवगत गराए ।

प्रधानमन्त्री ओलीले बोहराको पवित्र भावना र संकल्पको प्रशंसा गर्दै भने, “शरीरलाई धेरै दुःख नदिई स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्नुपर्छ ।” उनले बोहरालाई शान्तिपूर्ण र सकारात्मक ढंगमा अभियान अघि बढाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि बोहराले आफ्ना कुराहरू राख्न पाएकोमा हर्ष व्यक्त गरे । उनले भने, “पहिलो चरणको अभियान अझै पूरा भएको छैन, अब म जुत्ता लगाएर, दाह्री काटेर नयाँ स्वरूपमा अभियान अगाडि बढाउँछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =