बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसदहरु बढी असन्तुष्ट छन् : सांसद शाही

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सही र प्रभावकारी बजेट विनियोजनको लागि निर्वाचन प्रणालीमै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले अहिलेको निर्वाचन प्रणालीले नै बजेट निर्माणमा विकृति ल्याएको आरोप लगाए ।
‘निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन,’ उनले भने, ‘सरकारलाई बजेट बनाउन आउने मुख्य दबाब चुनावकै हो ।’
सांसद शाहीका अनुसार, चुनावताका सांसदहरूले जनतासँग विद्यालय, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा ठूलो आश्वासन दिएर जिते पनि त्यसअनुसारको बजेट विनियोजन हुन सक्दैन ।
‘बजेटप्रति प्रतिपक्षभन्दा बढी असन्तुष्टि त सत्तापक्षका सांसदहरूमै छ,’ उनले भने, ‘सरकारले खुशी पार्न प्रयास त ग¥यो, तर सकिएन। यसको समाधान भनेकै प्रणालीगत परिवर्तन हो ।’
शाहीले बजेटमा स्थानीयस्तरका आवश्यकताभन्दा राजनीतिक दबाब र आश्वासनको प्रभाव बढी देखिने बताउँदै निर्वाचन प्रणालीको सुधारले मात्रै दीर्घकालीन समाधान दिने बताए ।
उनले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठूलो भूमिका रहने उल्लेख गर्दै सुधारको नेतृत्व लिन आग्रह पनि गरे ।








