लोकतन्त्रमाथिको आक्रमण हाम्रो आफ्नै कमजोरी हो : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण आफूहरुकै कमजोरीका कारण भइरहेको टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले संसद् अझै पनि प्रभावकारी ढंगले नचल्न सक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले सांसद र नेताहरू सत्तामा रहेकाहरूको इशारामा गोटी बनेर हिँड्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

‘सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्ने हो भने हाम्रो स्वाभिमान क्षतविक्षत हुन्छ,’ अध्यक्ष केसीले भने, ‘आज हामीले संसद् जसरी चलाइरहेका छौँ, यसरी चलेर लोकतन्त्र टिक्छ ? गणतन्त्र टिक्छ ?’

उनले नयाँ पिँढीमा ‘देशमा केही हुन्न’ भन्ने निराशा फैलिएको भन्दै त्यसको मूल कारण शिक्षा प्रणाली भएको उल्लेख गरे । ‘हामीले लाखौँ युवालाई बेचिसकेका छौँ, पैसा लिने अनि लेनदेन नभए पनि बेचेकै हो,’ उनले भने, ‘यस्तो शिक्षा प्रणालीले देश बन्छ ?’

सांसद केसीले संघीयता नेपालको प्रगति र जनताको उन्नतिका लागि ल्याइएकै होइन भन्ने धारणा दोहो¥याउँदै सांसद अमरेश कुमार सिंहको अभिव्यक्तिसँग सहमति प्रकट गरे । ‘म संघीयता ल्याउँदा नै डराउँथेँ, कतै देश अन्तै त विलीन हुँदैन,’ उनले भने, ‘अहिले उहाँकै मुखबाट त्यो कुरा आयो ।’

उनले सत्ताको पछाडि मात्र लाग्नु राष्ट्रका लागि घातक भएको चेतावनी पनि दिए । ‘सत्ता, शक्ति र सम्पत्तिको पछि लागेर हिँड्दा राष्ट्रको दुर्दशा हुने हो,’ केसीले भने, ‘अब स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =