इरान-इजरायलमा रहेका एक जना नेपालीले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वद्वग्रस्त देशहरू इरान—इजरायलमा रहेका एक जना पनि नेपालीहरूले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताएका छन् ।

इरान र इजरायलमा सुरु भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरूलाई कसरी उद्धार गर्ने र उनीहरूको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री र पदाधिकारीहरूसँगको छलफल भएको हो ।

छलफलमा युद्धग्रस्त देशहरूबाट नेपाल फर्किन चाहने नेपालीहरूलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको बताए । नेपाल फर्किन चाहना राख्ने र अप्ठ्यारोमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गरे । सरकारले इरान र इजरायलको युद्ध सुरु भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी सुरु गर्ने काम पनि गरेको बताए ।

सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरूको बारेमा विवरण संकलन गर्न सुरु गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको बताए । जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको बताए । आईतवारदेखि सबैतिरको श्रममा गएका साथीहरूलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने बताए । भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरूलाई पनि ल्याउन आग्रह गर्ने बताए ।

उनले भने ‘जुन दिनदेखि इजरायल र इरानको लडाइँ सुरु भयो, त्यही दिनदेखि नै हामीले त्यो परिस्थितिलाई एकदमै नजिकबाट हेरिरहेका छौँ । त्यो दिनदेखि नै हामीले ट्राभल इड्भाइजरी सुरु गर्ने,लेख्ने त्यसबाहेक इजरायल बाहेक हामीले कतारमा भएको दूतावाससँग पनि सम्पर्कमा बसिरहेका छौँ । इजरायलको दूतावाससँग कुरा गरेपछि यहाँ पनि एउटा श्रममा बैठक भयो । त्यो बैठकपछि एउटा हामीले आफ्नै पोर्टल बनाएर इजरायलमा रहनुभएका नेपाली नागरिकलाई रजिस्टर गर्नु, त्यसमा रेस्क्यु गर्नु भन्यौँ । कहाँ हुनुहुन्छ जानकारी हुन्छ भन्यौँ । आजको दिनसम्म ६ सय ३ जनाले आफ्नो रजिस्टेशन गर्नुभएको छ । के गर्न चाहनुहुन्छ भनेर सोधेका पनि थियौँ । ६ सय जनामा २० जनाले हामी फर्किन चाहन्छौँ भनेर लेख्नुभएको छ । हामीले इजरायलमा भएको राजदूतावाससँग पनि कुरा गरिरहेका छौँ । हिजो निस्किन मिल्ने भनेर जोर्डनको काउन्सिलर विभागले पनि सूचना दिएको छ ।

राजदूतसँग कुरा गर्दा एयरपोर्ट बन्द भएपनि चार्टड फ्लाइट जानसक्छ की भन्ने कुरा गर्नुभयो । आज श्रममन्त्रीज्यु, गृह सचिव, परराष्ट्रसचिव, श्रम सचिव, पर्यटन मन्त्रालयको सचिवज्यूसँग बसेर छलफल गरेका छौँ । रेस्क्यु गर्ने भए कसरी गर्ने भनेर पूरा जानकारी लिएका छौँ । चार्टड फ्लाइट लैजाने भए कसरी लैजाने भन्नेकुरामा छलफल गरेका छौँ । आईतवारदेखि सबैतिरको श्रममा जानुभएका साथीहरूलाई रजिस्टर गर्नसक्ने एप लञ्च गर्दैछौँ । त्यो पछि हामीलाई कति जना नेपाली कहाँ हुनुहुन्छ भन्ने थाहा हुन्छ, अवैधानिक रुपमा जानुभएकाहरुको स्थिति पनि थाहा हुन्छ । एउटा वर्किङ टिम बनाएर यसबारे काम गर्ने स्थिति बनाउँछौँ । इरानमा धेरै कम संख्यामा हुनुहुन्छ । भारतको परराष्ट्र मन्त्रालयलाई चिठी लेख्छौँ । त्यहाँ केही नेपाली भएपनि ल्याइदिन आग्रह गर्छौं । साइप्रस र जोर्डनबाट आउनेको लागि पनि कुरा गरिरहेका छौँ । इजरायलमा दुई हजार जना जति हुनुहुँदो रहेछ । जो अवैधानिक रुपमा जानुभएको छ, तपाईँहरू नेपाली हुनुहुन्छ भने आइतबार वाट एपमा लञ्च हुन्छ, रजिस्टेशन गरिदिनुस् । हरेक नागरिकलाई रेस्क्यु गरेर ल्याउनसक्ने हाम्रो क्षमता छ । त्यहीअनुसार अघि बढेका छौँ ।’

परराष्ट्रमन्त्री डा.राणाले इजरायलमा दुई हजार जना भन्दा बढी नेपाली रहेको पाएको बताए । मन्त्री राणाले सरकारले नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रबन्ध गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =