अम्मरबहादुर थापाले च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभाको बैठकमै बजेट पुस्तक च्यातेका छन् ।
बिहीबार बसेको संसद् बैठकमा थापाले सरकारको बजेट नीति र कार्यदिशा जनताको पक्षमा नहुनु तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखलगायतका पिछडिएका क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए ।
‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन,’ थापाले भने, ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ, धन्यवाद ।’
सांसद थापाले बजेट च्यात्नुअघि सभामुखसँग स्वीकृति लिएर यस्तो कदम चालेको दाबी गरेका छन् । संसद्मा बजेटको आलोचना गर्दै उनले भने, ‘यो बजेट विकास होइन, वितरणको असमानता हो। राज्य स्रोत र नीति योजनाहरू शहरी केन्द्रमै सीमित भएका छन् ।’








