किसानमारा निर्णयमा विचौलियाको ‘गन्ध’ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले उखु उत्पादक किसानलाई दिँदै आएको अनुदान रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । करिब दुई दशकदेखि निरन्तर दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिना कुनै ठोस कारण रोक्नुले सरकारको नियतमाथि प्रश्न उठेको उनको भनाइ छ ।
नेता कोइरालाले सरकारको यो कदमले चिनी उद्योगलाई आत्मनिर्भर बनाउने राष्ट्रिय लक्ष्यमाथि नै प्रहार गरेको बताए । उनले भने, ‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु अत्यन्तै आपत्तिजनक छ ।’
सरकारको यस्तो निर्णयले उखु किसानहरू आफ्नो पेसाबाटै विस्थापित हुने निश्चित भएको दाबी गर्दै उनले यसले अन्ततः देशको चिनी उद्योगलाई नै धराशायी बनाउने चेतावनी दिए । ‘एकातिर चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने, अर्कोतिर किसानलाई हतोत्साहित गरेर विस्थापित गर्ने ?’ उनले भने, ‘यो विरोधाभासपूर्ण र गैरजिम्मेवार निर्णय हो ।’
सरकारको अपारदर्शी निर्णय प्रक्रियामाथि शंका व्यक्त गर्दै नेता कोइरालाले यसको पछाडि चिनी माफिया र विचौलियाको चलखेल हुन सक्ने आशंका गरेका छन् । उनले सरकारलाई तीखो प्रश्न गर्दै भने, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’








