सत्तारुढ दलहरू एकअर्कालाई सिद्ध्याउने मानसिकताले अघि बढे : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो आरोप लगाएका हुन् ।

राज्यको नेतृत्वकर्ताहरू शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उनको आरोप छ । उनले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त समेत गरे । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरू एकअर्कालाई सिद्ध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत आरोप लगाए ।

उनले भने ‘मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो । त्यसकारण त्यो सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने, सहमति कायम गर्न नदिने तथा एकले अर्कोलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने दिशातर्फ गइरहेको छ । र नेपाललाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर सामरिक दृष्टिकोणले नेपाललाई क्रिडास्थल बनाउन खोजिरहेको छ । यो चिन्तन प्रवृत्तिले समस्या पैदा भएको छ । यसको विरुद्धमा नेताहरू लड्न सके कि सकेनन् समीक्षा गर्न जरुरी छ । सत्ता सञ्चालन नेताहरू सर्वसत्तावादी एकाधिकारको सोभबाट मुक्त हुन सक्नु भएन । त्यसले गर्दाखेरि दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिद्ध्याउने र ध्वंस गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ ।’

महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =