देशको नेतृत्व गर्न प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको दाबी गरेका छन् । उनले नेपाली काँग्रेस र नेकपा एमालेबाट जनता अघाइसकेकाले अबको राजनीतिक मैदान माओवादीका लागि खाली भएको बताएका हुन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष प्रचण्डको नेतृत्व अपरिहार्य रहेको कुरा अब जनताले समेत बुझिसकेको जिकिर गरे । पार्टीको देश दौडाहा अभियानको अनुभव सुनाउँदै उनले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले समेत माओवादीलाई स्वागत गरेको बताए ।
अन्य दलहरूप्रति आक्रामक देखिएका सापकोटाले काँग्रेसलाई ‘प्रजातान्त्रिक सामन्तहरूको पार्टी’को संज्ञा दिए भने एमालेको कामले आफ्नै कार्यकर्ता लज्जित बनेको आरोप लगाए । उनले भने, ‘अहिले जनताले काँग्रेस र एमालेलाई पनि नजर भरी-भरी हेरिरहेका छन् । काँग्रेस त हामीले जानेकै पार्टी हो, त्यो प्रजातान्त्रिक सामन्तहरूको पार्टीबाट मान्छेलाई धेरै आशा थिएन । तर हामी जहाँ-जहाँ पुग्यौँ, त्यहाँ एमालेका कार्यकर्ताहरूको शीर निहुरिएको छ, उनीहरू असाध्यै लज्जास्पद अवस्थामा छन्। एक प्रकारले हामीलाई मैदान खाली थियो । हाम्रो पार्टीबाट निर्वाचितले मात्र होइन, काँग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत बाटोमा स्वागत गर्ने र ज्ञापनपत्र दिने काम गरे । उनीहरूले भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ र त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्ने कुरा बुझेका छन् ।’








