गायिका रचना रिमालको स्वास्थ्यमा सुधार, अस्पतालबाट भइन डिस्चार्ज

काठमाडौँ । गायिका रचना रिमालको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार पश्चात् अस्पतालबाट डिस्चार्ज भएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट आइतबार साँझ जानकारी दिएकी छिन् ।
उनी लेख्छिन्:
नमस्कार
म जेष्ठ २६ गते दिउँसो साङ्गितिक कार्यक्रमको लागि रुकुम पुगेकी थिए । जेष्ठ २७ गतेको लागि साङ्गितिक कार्यक्रम तय भएको थियो । राति खाना खाई सुते पश्चात् बिहान १ बजेबाट अचानक पेटमा अत्याधिक दुखाईको महसुस भयो जुन निरन्तर ३-४ घण्टासम्म जारी रह्यो। मैले आयोजकको दादाहरूलाई खबर गरे र हामी उपचारकोलागि चौरजाहरि अस्पताल गयौँ । त्यहाँ विभिन्न परीक्षण पश्चात् चिकित्सकको आग्रह अनुसार सकेको छिटो एपेन्डिक्सको अपरेशन गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसपछि म अन्यौलमा परे । राति देखिको त्यो पिडा, नयाँ ठाउँ , एक्कासि त्यो अवस्थाले म त्यो केही सोच्न सक्ने अवस्थामा थिइन ।
त्यसपछि मेरो आफन्तहरूले हेलिकप्टरबाट काठमाडौँ ल्याएर नै उपचार गर्ने भनेर हेलिकप्टरको खोजी थालियो । निजी हेलिकप्टर काठमाडौँबाट नै रुकुम पुगेर ल्याउनुपर्ने देखेपछि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट भए छिटो र नजिक हुने देखिए पछि सेनाको हेलिकप्टर व्यवस्थाको लागि प्रक्रिया थालियो र केही समयमा स-शुल्क सेनाको हेलिकप्टरको व्यवस्थापन भयो । यसको लागि माननीय रक्षा मन्त्री मानवीर राई, माननीय महेश बर्तौला र नेपाली सेनाका प्रधानसेनापति ज्युले गरिदिनुभएको सहजीकरणको लागि सदैव ऋणी छु ।
रुकुमबाट सेनाको हेलिकप्टरबाट नेपालगंज विमानस्थलसम्म ल्याइएपछि बुद्ध एयरको जहाज मार्फत तत्काल काठमाडौँ ल्याइयो । एयरपोर्टबाट ह्याम्स हस्पिटलको एम्बुलेन्सबाट एमरजेन्सिमा भर्ना गरी उपचार थालियो । र रुकुमको चौरजाहरि अस्पतालमा शङ्का गरिएको जस्तो एपेन्डिक्सको समस्या नभै अन्य आन्द्राको सङ्क्रमण भएको पुष्टि भयो ।
त्यस पश्चात् चिकित्सकहरूको निरन्तर निगरानीमा ह्याम्स हस्पिटलमा भर्ना भई ५ दिन उपचार गर्दा स्वास्थ्यमा केही सुधार देखिएको छ र हिजो साँझ हस्पिटलबाट डिस्चार्ज समेत भैसकेको छ ।चौरजहारी अस्पतालदेखि ह्याम्स हस्पिटल सम्म स्वास्थ्य सेवामा खट्नुहुने सम्पूर्ण चिकित्सक टोलिलाई धेरै भन्दा धेरै धन्यवाद । विशेष गरी ह्याम्स अस्पतालमा उपचारको लागि सहजीकरण गर्नुहुने वरिष्ठ चिकित्सक डा. भोला रिजाल ज्यु, उपचारमा खटिनुहुने डा. अनुज पराजुली , डा. दिवेश श्रेष्ठलाई विशेष धन्यवाद ।
साथै यो कठिन समयमा स्वास्थ्यको बारेमा चासो राख्नुहुने , अस्पतालमा उपस्थित भई प्रत्यक्ष भेटेर र विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।
हाल चिकित्सकको सल्लाह अनुसार घरमै आराम र थप स्वास्थ्य लाभ गरिरहेको जानकारी गराउँदै हाललाई पूर्व निर्धारित सम्पूर्ण कार्यहरू केही समयलाई थाती राख्दै छिटोभन्दा छिटो पूर्ण स्वास्थ्य लाभ सहित हजुरहरूमाझ प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।









