मण्डला थिएटरमा राकेश बेदी : रङ्गमञ्चदेखि चलचित्रसम्मको अविस्मरणीय यात्रा (तस्बिरसहित)

काठमाडौँ। भारतीय चलचित्र तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता राकेश बेदी आफ्नो नयाँ फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि नेपाल आएका छन्। यस अवसरमा काठमाडौँस्थित मण्डला थिएटरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपाली दर्शक, कलाकार तथा सञ्चारकर्मीसँग आफ्नो लामो अभिनय यात्राका अनुभव साटे।

चार दशकभन्दा बढी समयदेखि भारतीय मनोरञ्जन क्षेत्रमा सक्रिय बेदीले ‘ये जो है जिन्दगी’, ‘श्रीमान् श्रीमती’, ‘यस बोस’ जस्ता लोकप्रिय टेलिभिजन शृङ्खला तथा ‘चश्मे बद्दूर’ लगायतका चलचित्रमार्फत दर्शकमाझ विशेष पहिचान बनाएका छन्। हास्य अभिनयका लागि परिचित उनी पछिल्ला वर्षहरूमा सशक्त चरित्र अभिनेताका रूपमा समेत प्रशंसित हुँदै आएका छन्।

हालै प्रदर्शनमा आएको ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ ले उनको करिअरमा नयाँ चर्चा थपेको छ। निर्देशक आदित्य धारको निर्देशनमा बनेको यस स्पाई–एक्सन थ्रिलरमा उनले निभाएको ‘जमिल जमाली’ पात्र र संवाद ‘बच्चा है तु मेरा’ सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको थियो। यस सफलतासँगै उनी नयाँ पुस्ताका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय बनेका छन्।

नेपालमा प्रचार भइरहेको ‘है जवानी तो इश्क होना है’ पारिवारिक तथा रोमान्टिक कमेडी विधाको मनोरञ्जनात्मक चलचित्र हो। फिल्मको प्रवर्द्धनका क्रममा नेपाल आएका बेदीले नेपाली दर्शकबाट पाएको माया, आत्मीयता र नेपालसँगको सांस्कृतिक निकटताले आफूलाई सधैँ आकर्षित गर्ने बताए।

रङ्गकर्मी तथा अभिनेता विजय बरालको सहजीकरण मा सम्पन्न कार्यक्रममा बेदीले रङ्गमञ्च, टेलिभिजन र चलचित्र क्षेत्रमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गरे। उनले राम्रो कामको मूल्य ढिलो वा चाँडो अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्दै ‘धुरन्धर’ को सफलताले आफूलाई थप ऊर्जा दिएको र आगामी दिनमा पनि दर्शकलाई गुणस्तरीय मनोरञ्जन दिन निरन्तर लागिरहने बताए।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =