जलवायु परिवर्तनको मारमा अफगानिस्तानका किसान

एजेन्सी । उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रहरूमा जलवायु परिवर्तनको गम्भीर असर देखिन थालेको छ । अनपेक्षित तापक्रम वृद्धि, अनियमित वर्षा, असिनाबारी र प्रतिकूल मौसमका कारण बालीनाली नष्ट हुँदा त्यहाँका किसानको जीविकोपार्जनमा ठूलो संकट उत्पन्न भएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब १६० किलोमिटर उत्तरमा पर्ने बागलान प्रान्तका ५६ वर्षीय किसान अब्दुल हमिदकाअनुसार यस वर्ष उनको बाली पूर्ण रूपमा नष्ट भएको छ । १८ वर्षदेखि कृषिमा संलग्न हमिदले बेमौसमी वर्षा र नयाँ प्रकारका रोगहरूका कारण खेतीमा ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

‘यस वर्ष वर्षा गलत समयमा भयो, जसले पहिले गहुँ र पछि टमाटर तथा खर्बुजा खेतीलाई नष्ट गर्‍यो ।’ उनले भने । हमिदकाअनुसार गत वर्ष साढे चार लाख अफगानी आम्दानी गरेका उनले यस वर्ष हालसम्म मात्र ३० हजार अफगानी बराबरको उपज विक्री गर्न सकेका छन् ।

छिमेकी कुन्दुज प्रान्तका किसान अजिजुल्लाहले पनि मौसममा आएको अस्वाभाविक परिवर्तनले बाली हुर्कन नसकेको बताए । अत्यधिक गर्मीका कारण बोटबिरुवा सुक्ने र उत्पादनमा ह्रास आउने समस्या बढेको छ ।

कुन्दुजकै अर्का किसान बाज मोहम्मदले तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्दा तरकारी बालीमा किराको प्रकोप बढेको र यसअघि यस्तो समस्या कहिल्यै नदेखिएको उल्लेख गरे ।

करिब ३ करोड ७० लाख जनसङ्ख्या भएको अफगानिस्तानमा झन्डै ८० प्रतिशत नागरिक जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् । संयुक्त राष्ट्रसंघीय सहायता नियोगको हालैको प्रतिवेदनअनुसार खडेरी र जलस्रोतको अभावले यहाँको आधाभन्दा बढी जनसङ्ख्या प्रभावित भएको छ ।

लामो समयको खडेरीसँगै अचानक आउने बाढीले पनि कृषि क्षेत्रमा अपूरणीय क्षति पुर्‍याइरहेको छ । अफगानिस्तानको प्राकृतिक प्रकोप व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै बाढीका कारण ३२ हजार एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट भएको छ ।

जलवायु परिवर्तनको असरसँगै आधुनिक कृषि उपकरणको अभाव, पुराना खेती प्रणाली, कमजोर सडक पूर्वाधार, शीत भण्डारको कमी र जलवायु अनुकूल बीउबिजनको अभावले अफगान किसानको समस्यालाई थप जटिल बनाएको छ ।

विश्वव्यापी रूपमा बढ्दो तापक्रम र वातावरणीय असन्तुलनले अफगानिस्तानको कृषि प्रणालीलाई नै धराशायी बनाउने जोखिम बढेको विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =