मण्डला थिएटरको कचहरी नाटक अभियान अन्तिम चरणमा

काठमाडौँ । मण्डला थिएटर नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिरहेको स्थानीय थिएटर क्लब निर्माण तथा कचहरी नाटक कार्यशाला अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमअन्तर्गत सम्बन्धित पालिकाहरूमा स्थानीय थिएटर क्लब गठन भइरहेका छन् भने कार्यशालाबाट तयार भएका नाटकहरू समुदायमाझ प्रस्तुत गर्न थालिएको छ ।

यसैक्रममा डडेल्धुराको आलिताल गाउँपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा आजदेखि कचहरी नाटक प्रदर्शन सुरु भएको छ। अन्य चार पालिकामा पनि आगामी सातादेखि प्रदर्शन प्रारम्भ हुनेछन् । प्रत्येक पालिकाका कम्तीमा आठ स्थानमा नाटक मञ्चन गरिने मण्डला थिएटरले जनाएको छ ।

कार्यक्रमका लागि मण्डला थिएटर नेपालले एक महिनाअघि सुदूरपश्चिम, लुम्बिनी र काठमाडौंका सक्रिय रंगकर्मीलाई कचहरी नाटक सहजीकरण, स्थानीय थिएटर क्लब निर्माण तथा सहभागी नाट्य अभ्याससम्बन्धी विशेष प्रशिक्षण दिएको थियो । त्यसपछि प्रशिक्षित सहजीकर्ताहरूलाई विभिन्न पालिकामा परिचालन गरी १५ दिने कार्यशाला सञ्चालन गरिएको थियो ।

स्थानीय समुदायका अनुभव, चुनौती र सरोकारका विषयलाई केन्द्रमा राखेर तयार गरिएका नाटकहरूले समुदायभित्र संवाद, सहभागिता र सामूहिक समाधानको खोजीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । नाटक प्रदर्शनको अनुगमन, दस्तावेजीकरण तथा प्रतिक्रिया संकलनका लागि मण्डला थिएटर नेपालको केन्द्रीय टोली भोलिदेखि सुदूरपश्चिम प्रदेश प्रस्थान गर्दैछ ।

‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्वास्थ्य सचेतनाका लागि सहभागी नाटकको संस्थागत विकास’ परियोजनाअन्तर्गत सञ्चालन भइरहेको यो कार्यक्रम जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोग तथा GIZ को स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सहयोग कार्यक्रम S2GESI सँगको साझेदारीमा सञ्चालन भइरहेको हो ।

कार्यक्रमको उद्देश्य सहभागी नाटकमार्फत स्थानीय युवाको नेतृत्व विकास गर्दै स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी संवादलाई प्रवर्द्धन गर्नु तथा स्थानीय स्तरमा दिगो थिएटर क्लबको विकास गर्नु रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =