बालेनलक्षित राजेश हमालको टिप्पणी: देशको नेतृत्व गर्ने व्यक्ति परिपक्व हुनुपर्छ

काठमाडौं । अभिनेता राजेश हमालले सीमा सम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’लाई एउटै अर्थमा बुझ्न नहुने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले दुवै विषयको प्रकृति पूर्णतः फरक भएको उल्लेख गरेका हुन् ।

सीमा विवादबारे चलिरहेको बहस र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिको सन्दर्भबीच उनले आफ्नो विचार राखेका हुन् ।

हमालले आजको जटिल विश्व राजनीतिक परिस्थितिमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव र दूरदृष्टि आवश्यक हुने बताएका छन् ।

‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,’ हमालले लेखेका छन् ।

सीमा सम्बन्धी विवादमा धेरैजसोले ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’लाई एउटै रूपमा बुझ्ने गरे पनि व्यवहारमा ती दुई अलग प्रकृतिका विषय भएको उनको भनाइ छ ।

उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय र प्रशासनिक प्रकृतिको समस्या हो ।

नेपाल–भारत खुला सीमाका कारण ऐतिहासिक रूपमा दुवै देशका नागरिकबीच व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउने वा बस्ती विस्तारजस्ता घटनालाई प्राकृतिक र ऐतिहासिक प्रक्रियाको परिणामका रूपमा व्याख्या गरेका छन् ।

‘यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन्,’ हमालले लेखेका छन्, ‘यिनीहरू रणनीतिक विस्तारभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ ।’

तर राज्य–प्रायोजित भू–अतिक्रमण भने फरक प्रकृतिको विषय भएको उनको तर्क छ । उनका अनुसार कुनै राष्ट्रका राज्य संरचनाहरू स्वयं विवादित भूभागमा नियन्त्रण विस्तार गर्न सक्रिय हुँदा त्यस्तो अवस्था उत्पन्न हुन्छ ।

‘यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन्,’ उनले लेखेका छन्, ‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ ।’

हमालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । सीमा सम्बन्धी यस्ता संवेदनशील विषयमा बहस गर्दा तथ्य, ऐतिहासिक सन्दर्भ र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यान दिनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =