वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

काठमाडौं । सङ्गीत क्षेत्रमा ख्याति कमाएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ ।

राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।

अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए ।

यही मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो । निर्णायक भूमिका निर्वाह गर्न पुणे पुगेका उनलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो ।

यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उनलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा ‘सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार २०२५’, ‘विविधता मे एकता राष्ट्रिय सम्मान २०२०’, ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’, पश्चिम बङ्गाल सरकारबाट ‘सङ्गीतमंजरी’ उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी, सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट ‘स्वर्णपत्र’ प्रदान गरिएको थियो ।

नेपालका सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्ला व्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेसन अवार्डलगायत पुरस्कार तथा सम्मान पाएका छन् ।

सरोदवादनबाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफुल म्युजिक फर मेडिटेसन, भारतबाट सुरिल म्युजिक इन २०१५ लगायत सिडी तथा क्यासेटहरू प्रकाशित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =