तीनकुने घटनामा राज्यले मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भइसक्यो : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले ४० दिनदेखि रवीन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए ।
उनले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाए ।
उनले भने ‘सरकारले राज्य आतंक अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रवीन्द्र मिश्र लगायतका साथीहरू आजपनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी संघ सङ्गठनहरूले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ । तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरू न्यायिक छानबिन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानबिन समिति बनाउँदैन रु न्यायिक छानबिन समिति आवश्यक छ ।’
उनले थुनामा रहेका राप्रपा नेताहरूलाई तत्काल छोड्न समेत सरकारको ध्यानाकर्षण गरे ।








