१ सय ३६ औं श्रमिक दिवस

बाँच्न पुग्ने तलवभत्ता नहुँदा श्रमिकहरू बिदेसिन बाध्य : ट्रेड युनियन नेताहरू

काठमाडौँ । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले कतिपय ठूला उद्योगी व्यवसायीहरूले शतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए ।

१ सय ३६ औं श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरूको खबरदारी नपुगेको बताए ।

सिम्खडाले श्रमिकहरूको बाँच्न पुग्ने तलवभत्ता नहुँदा श्रमिकहरू बिदेसिन बाध्य भएको स्पष्ट पारे । उनले श्रमिकको हक हितमा ऐन नियमहरू बनाइरहँदा श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोच्दासोच्दै श्रम सुरक्षाका नाममा अधिकारहरू साट्न बाध्य हुनुपरेको बताए ।

उनले भने ‘एक सय ३६ वर्ष अघिबाट सुरु भएको आठ घण्टे कार्यदिन सबै ठाउँमा लागू भइरहेको छैन । नेपालको सन्दर्भमा भएका आन्दोलनबाट प्राप्त संविधानको जगमा टेकेर बनाइएका श्रम ऐन, सामाजिक सुरक्षा ल्याइसकेपछि श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोचेपनि श्रम ऐनको दफाहरूमा उल्लेख भएका दफाहरू पनि खोसिने जोखिम बढेको छ । संविधानको मौलिक हकमा उल्लेख भएका हकहरुपनि कुण्ठित हुँदै गएका छन् । बैंक वित्तीय क्षेत्रमा श्रम ऐन लागू हुँदैन तर त्यही ऐन होटल तथा रेष्टुरेण्टमा लागू हुँदा । रोजगारदाताहरू सामाजिक सुरक्षा कार्यान्वयन अगाडि नबढ्नेतर्फ गइरहेका छन् ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का अध्यक्ष विनोद श्रेष्ठले पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित श्रमिक क्षेत्र भएको बताए । उनले श्रम बजार परिवर्तन भएको र शोषणका रूपहरूसमेत परिवर्तन भएको उल्लेख गर्दै नयाँ श्रमिकहरूमा मजदुर आन्दोलन सशक्त हुन नसकेको भ्रम रहेको बताए ।

उनले श्रमिकका हकहितमा हासिल गरिएका उपलब्धिहरूलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गरे । अध्यक्ष श्रेष्ठले केही समयअघि दुई सय ४० दिन काम गरेसँगै स्थायी हुनुपर्ने प्रावधान रहेको भएपनि हाल एक घण्टा काम गरेपनि स्थायी सरह सेवा सुविधा दिनुपर्छ भन्ने खालको कानुन आइसकेको बताए । सामाजिक सुरक्षाको व्यवस्था भइसकेको तर सबैतिर लागू नहुँदा समस्या जस्ताको तस्तै देखिएको बताए । कार्यान्वयनमा अरुले बोलिदिए हुन्थ्यो कि भन्ने अवस्थाका कारण श्रमिक वर्गको उत्थानमा समस्या रहेको अध्यक्ष श्रेष्ठले दाबी गरे ।

उनले भने ‘जलवायु परिवर्तनको असरका कारण सबैभन्दा बढी भिक्टिम श्रमजीवी वर्ग नै छ । हिजोको भन्दा आज अवस्था परिवर्तन भएको छ । आफ्नो काम गर्ने कर्मथलो परिवर्तन भएको छ । कृषि क्षेत्रका मजदुर त्यत्तिकै प्रभावित छन् । किनभने पानी पर्ने समयमा घाम लाग्ने र घाम लाग्ने समयमा पानी लाग्ने अवस्थाले नेपालको कृषि क्षेत्रका मजदुर प्रभावित छन् । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दो छ । श्रमजीवी वर्गले काम मात्र होइन आरामको पनि समस्या झेलिरहेका छन् । श्रम संसार अहिले द्रुत गतिमा परिवर्तन भइरहेको छ । श्रम बजारमा हुनुपर्ने काम नभइरहेको र नहुनुपर्ने काम भइरहेको छ । ट्रेड युनियनहरूले केही गरेनन् कि भन्ने जुन भ्रम छ ४५ वर्षपछिको अवस्थामा निकै उतार चढाव रहेको छ । तर, प्राप्त उपलब्धिलाई व्यवहारमा लागू गर्न नसकिरहेको परिस्थिति रहेको छ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर अनौपचारिक क्षेत्रका श्रमिक, अझ त्यसमा पनि महिला श्रमिक बढी प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनसँगै श्रमिक क्षेत्र प्रभावित भएको र त्यसमा पनि महिला श्रमिक अझ बढी प्रभावित भएको बताउँदै जलवायु परिवर्तनसँगै कामको संसारमा परिवर्तन आएको बताए ।

जलवायु परिवर्तनले यातायात, पर्यटन, कृषि, निर्माणलगायत अधिकांश क्षेत्रमा असर परेको र श्रमजीवीले रोजगारी गुमाउनु परिरहेको र यसमा नेपाल सरकारले जुन रुपमा काम गर्नुपर्ने हो त्यो नगरेको अध्यक्ष कुँवरको भनाई थियो । उनले केही समयअघि आएका बाढी, पहिरो लगायतका कारण खोला किनारामा काम गर्ने श्रमिक महिला बढी मारमा परेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा श्रमिकहरूको क्षमता, दक्षता र सीपलाई परिमार्जित गर्ने गरि काम भइरहेको अध्यक्ष कुँवरले दाबी गरे ।

उनले पछिल्लो समयमा श्रमिकको हकहितका लागि कुनै काम भएनन् भन्ने अवस्था नरहेको भन्दै श्रमका सन्दर्भमा नीतिगत संरचनाहरू बनेको दाबी गरे । तर कार्यान्वयनका सन्दर्भमा जुन रफ्तारमा काम हुनुपर्ने थियो त्यसमा सरकारको संयन्त्रहरूले राम्रोसँग काम नगरिदिँदा कार्यान्वयन हुन नसकेकोले गुनासो बढी रहेको स्पष्ट पारे ।

उनले भने ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी श्रम बजारमा नै छ । यसबाट कोही प्रभावित छन् भने श्रमजीवी वर्ग नै छ । त्यसमा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरू र त्यसमा पनि महिला श्रमिक प्रभावित छन् । जलवायु परिवर्तनबाट उत्पन्न समस्यामा पुरुष श्रमिक भन्दा पनि महिला श्रमिक बढी प्रभावित भएका छन् । श्रमजीवीको समस्यामा सरकारले जनुरुपमा काम गर्नुपर्ने हो त्यो अझै पनि हुन सकेको छैन ।’

यसैगरी कार्यक्रममा जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिकको अवस्था धेरै पीडामा रहेको बताइन् । उनले महिला श्रमिक पितृ सत्तात्मक सोच र चिन्तनले ग्रस्त समाजबाट पीडित रहेको बताइन् । उनले जलवायु परिवर्तनले सबैभन्दा बढी पारेको श्रमिक वर्गलाई र त्यसमा पनि महिला श्रमिक धेरै पीडित रहेको दाबी गरिन् ।

उनले पेसा र कामको प्रकृति फरक—फरक भएपनि महिला श्रमिक कार्यथलोमा समेत शोषित भइरहेको बताइन् ।

उनले भनिन् ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी श्रमिक क्षेत्रमा परेको छ । अझ त्यसमा पनि महिला श्रमिकहरू अझ बढी प्रभावित भएका छन् । सुख्खा पन बढ्दो भएपछि घरपरिवारलाई सुव्यवस्थित रुपमा दैनिक चलाउने क्रममा पानीको जोहो गर्न लामो समय पानी व्यवस्थापनमा खर्चिनुपर्ने भएकोले काम गर्ने समय कटौती भएको छ । त्यसैले जलवायु परिवर्तनले महिला श्रमिक बढी प्रभावित भएका छन् ।’

कार्यक्रममा श्रमिक नेताहरूले दैनिक आठ घण्टा काम, आठ घण्टा आराम भनिए पनि नेपालमा भने व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =